श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

2018-03-16

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालज्यूले आफ्नो पदवाट दिनुभएको राजीनामा आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । श्री न्यौपानेज्यूले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका श्री न्यौपानेज्यू एन आई सी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत हुनुहुन्छ ।

साथै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर १० लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । श्री न्यौपानेज्यूको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ ।

नवनियुक्त बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूले बैंकका आदरणीय ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिवद्ध रहन सबै ग्राहक महानुभाव, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवम् अप्रत्यक्ष तवरबाट जोडिनु भएका सबै बर्गमा अनुरोध गर्नुभएको छ ।

Top