'डिजिटल्ली फर्स्ट' हुनेगरी एनआइसी एसिया बैंकले सेवा बिस्तार थालेको छ। ग्राहकलाई शाखा कार्यालय नगइ घरबाटै कारोबार गरुन् भनेर बैंकले पूर्वाधारमा समेत लगानी बढाएको छ।
'हाम्रो ड्रिम डिजिटल फर्स्ट बन्ने भन्ने हो,' प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बिजमाण्डूसँग भने, 'त्यही भएर लकडाउनका बेला प्रविधिमैत्री सेवामा हामी फोकस भएका छौं। यसलाई निरन्तरता दिइरहन्छौं।'
लकडाउनपछि बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धनसमेत गरिरहेको छ। बैंकले 'नगद कारोबार कम गरौं' भन्दै 'मोब-एप' बाट कारोबार गर्न सर्वसाधारणलाई प्रोत्साहित गरिरहेको छ। त्यसैले बैंकले क्यासब्याक स्किमसमेत ल्याएको छ। १० प्रतिशत छुटसमेत पाइन्छ।
'पहिलो प्राथमिकता डिजिटल हो। त्यसैले आक्रामक रूपमा हामी यसमा लागेका छौं,' न्यौपानेले भने, 'अहिले हामीले ल्याएको स्किम सायदै कुनै पनि बैंकले ल्याएका होलान्। टेक्नोलोजी कम्पनीले दिनेभन्दा राम्रो सेवा हामीले दिइरहेका छौं।'
बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेपछि ग्राहक संख्या बढिरहेको उनले बताए। 'हिजो मोब-एप चलाउने जति थिए अहिले त्यो तेब्बरले बढेको छ,' न्यौपानेले सुनाए।
बैंकको मोब-एप चलाउन सजिलो भएको उनले बताए। बैंकमा ग्राहकले खाता खोल्नु पर्छ। खाता बैंक नपुगी घरैबाट अनलाइनमार्फत खोल्न सकिन्छ। खाता खोलेपछि एप डाउनलोड गर्ने। केही विवरण बैंकले अद्यावधिक गरेपछि एप चलाउन सकिन्छ।
बैंकका अहिले देशभर २५ सयभन्दा बढि मर्चेन्टसँग सम्झौता गरेको छ। त्यहाँ न्युनतम १० प्रतिशत छुट पाइन्छ। '२५०० भनेको एकदमै ठूलो नेटवर्क हो,' उनले भने, 'यसमा होटल, रेष्टुरेन्ट, पसल, मल, हस्पिटलजस्ता अधिकांश क्षेत्र छन्।'
डिजिटल बैंकिङ भविष्य भएकाले यसको पूर्वाधारमा ठूलो लगानी गरेको उनले जानकारी दिए। 'शाखामा भन्दा यतातिर हाम्रो धेरै श्रम खर्च भइरहेको छ,' उनले भने, 'डिजिटल बैंकिङमा ठूलो इको सिस्टम बनाउने भनेर हामी हिँडिरहेका छौं।'
Source: Click here for Full News