एन आई सी एशिया बैंकद्धारा साथी नामक AI Embedded Chatbot को शुरुवात, अब अनलाइन मार्फत साथी Chatbot ले दिनेछ बैंकिङ्ग सेवा बारे जानकारी
01.08.2024
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई आफ्ना बैंकिङ्ग सेवाहरुको नौलो अनुभव तथा कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ नयाँ प्रविधिमा आधारित साथी नामक AI Embedded Chatbot सेवाको शुरुवात गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकले शुरु गरेको साथी Chatbot मार्फत ग्राहक महानुभावहरुले बैंकिङ्ग सेवा तथा सुविधा सम्बन्धित सेवा र जानकारी प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले यस Chatbot मार्फत आफ्नो जिज्ञासा तथा गुनासो राख्न, बैंकका सेवा र सुविधाहरुको बारेमा जानकारी लिन, खाता खोल्न र ब्लक गर्न, ब्यालेन्स र अन्य विवरण बुझ्न सक्नुहुनेछ । यस सेवाको शुरुवातसँगै ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरुको उपभोग गर्न अझ बढी सरल र सहज हुने बैंकले विश्वास लिएको छ । साथै, बैंकले चाडै नै यस Chatbot को माध्यमद्धारा विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिने, एक खाताबाट अर्को खातामा रकमान्तर गर्न सकिने र बैंकिङ्ग सेवा सम्बन्धित अन्य सेवा र सुविधाहरु उपलब्ध गराउने तयारी गरिरहेको छ ।
एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.२ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
अर्जुन राज खनिया
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)